
नेपालगन्जबाट शनिबार १३ जनाको टोली डोल्पाको दुनै सदरमुकाममा पुग्यो। जसमा तीनजना से-फोक्सुण्डो गाउँपालिका र बाँकी डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय हुन्। डोल्पोबुद्ध गाउँपालिकाले नागरिकलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि बाँकी से-फोक्सुण्डो गाउँपालिका ५ की ङाचोक गुरुङसँगै तीन महिलालाई दुनैस्थित क्वारेन्टाइनमा राख्ने निधो गरियो। तर उनीहरुले क्वारेन्टाइनमा बस्न मानेका थिएनन्।
अन्ततः जबर्जस्त क्वारेन्टाइनमा राख्न खोज्दा उनीहरु रोइकराइ गर्दै आत्महत्याको प्रयास गर्न थाले। नेपाली भाषासमेत राम्रोसँग नबुझ्ने तीनैजना महिला आफूलाई कोरोना नलागेको भन्दै घर जान पाउनुपर्ने दाबी गर्न थालेपछि क्वारेन्टाइनमै राख्ने निधो गरियो। तर आफूलाई क्वारेन्टाइनमै राख्न खोजेपछि ङाचोक गुरुङले नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन्। आफूसँगै आएका साथी सबै घर गए तर हामीलाई मात्र किन रोकियो ? भन्दै उनले भेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन्।
उनीहरुलाई सम्झाउँदै फकाउन थालेपछि रोइकराइ गर्न छोडेका थिए। हाल उनीहरु जस्तै क्वारेन्टाइनमा बसेका यहाँका अधिकांश स्थानीयलाई क्वारेन्टाइन स्वास्थ्यका लागि नभइ जेल हो भन्ने सोचाइ छ। क्वारेन्टाइनमा राख्दा उनीहरु आफुलाई जर्बजस्ती जेटमा हाल्न खाजेको महसुश गर्छन्। माथिल्लो डोल्पाका नागरिकले क्वारेन्टाइनलाई जेल भन्ने ठान्छन्। कोरोनाको बिषयमा नबुझ्दा यहाँका नागरिकलाई क्वारेन्टाइनमा बस्नुभन्दा अन्य कुनै सजाय दिए हुन्थ्यो जस्तो लागेको छ।