
कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्याङ्क अनुसार सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ ।पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ ।
दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७ सय ७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६ सय ८९ व्यक्ति सङ्क्रमित भएका छन् ।
स्पेनमा ८५ हजार १ सय ९९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने ७ हजार ४ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४ सय ७० सङ्क्रमित भएकोमा तीन हजार ३ सय ४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ ।
चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।
जर्मनीमा सङ्क्रमित ६३ हजार ९ सय २९पुष्टि भएको छ भने ५ सय ६० जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४ सय ९५ सङ्क्रमण र २ हजार ७सय ५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १सय ७४ व्यक्तिमा सङ्क्रमण, २ हजार ६ सय ६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५सय २२ व्यक्तिमा सङ्क्रमण, एक हजार २ सय २८ जनाको मृत्यु भएको छ ।
एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या ९ हजार ६ सय ६१ रहेको छ भने १ सय ५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ५० सङ्क्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना सङ्क्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।