
रूपन्देहीको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ ।
रूपन्देहीको सैनामैना– ४ का ३४ वर्षीय पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
उनी चैत १३ गते अस्पतालमा भर्ना भएका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले उपचारका क्रममा बिरामीको मृत्यु भएको पुष्टि गरे । उनको स्वाब परीक्षणका लागि आइतवार नमूना समेत लिइएको थियो ।
कोरोनाको परीक्षण नहुँदै उनको मृत्यु भएको छ । उनी चैत ६ गते युएईबाट नेपाल फर्किएका थिए ।
कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले आइतबार उनलाई एक्कासि सास फेर्न गाह्रो भएपछि मृत्यु भएको जानकारी दिए ।
युएईबाट आउँदा नै उनलाई सामान्य ज्वरो आएको थियो । ६ गते घरमा आएका उनले ७ गते गाउँकै मेडिकलमा ज्वरोको औषधि खाएका थिए ।
ज्वरो निको नभएपछि उनी १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका थिए । त्यसपछि अस्पतालमै भर्ना गरेर उनको उपचार हुँदै आएको थियो ।
मृत्यु भएका बिरामीमा कुनै दीर्घ रोग नभएको डा. थापाले बताए ।
उनले लोकान्तरसँग भने, ‘मृत्यु हुने बिरामीमा कुनै दीर्घ रोग थिएन । आज श्वास फेर्न गाह्रो भयो भन्दै हुनुहुन्थ्यो, मृत्यु भयो । मृतकको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । सम्भवतः भोलिसम्म आउला ।’
५० बेडको कोरोना विशेष अस्पतालमा अन्य बिरामीहरू पनि आइसोलेसनमा उपचाररत छन् ।
कोरोनाको आशंकामा उपचारत बिरामीको मृत्यु भएपछि बुटवलमा त्रास बढेको छ ।