
काठमाडौं । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ ।
सेनाले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै यस विपदको घडीमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत यो मोबाइल एपले सहयोग पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त मोबाइल एप सेनाको वेभसाइट www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने समेत जानकारी दिइएको छ । तर हाललाई भने यो एप एनड्रोइड मोबाइल फोनको लागि मात्र तयार गरिएको र केही दिनमै एप्पल मोबाइल फोनका लागि समेत तयारी गरिने सेनाले जनाएको छ ।
यो एपमा प्रयोगकर्ताले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईलाई कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षण विवरण उपलव्ध गराउन सक्ने सेनाले जनाएको छ ।