
म १८ वर्षदेखि युरोपमा बस्दै आएको छु । मेरी श्रीमती, एक छोरा र एक छोरी पनि बेल्जियममै बस्छन् ।
जेठी छोरी भने पहिलेदेखि नै नेपालमा बस्दै आएकी छिन् । ११ कक्षा पढ्दै गरेकी उनीलाई केही समय पहिला हामीले नै बेल्जियम घुम्न बोलाएका थियौं । तर कारणवश म १२ फागुनमै नेपाल आउनुपर्यो ।
चैत ४ गते बिहान कतार एयरवेजको क्यूआर ६५२ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेकी उनी सोही दिनै बागलुङ आइपुगेकी थिइन् ।
सोही दिन उनी दिउँसो १२.४५ को यती एयरलाइन्सको ६७९ विमानमा पोखरा आएकी हुन् । पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किमी र त्यहाँबाट ६११२ नम्बरको स्कर्पियोमा अन्य यात्रुसँगै उनी बाग्लुङ गएकी थिइन् । उनीसँगै बेल्जियमबाट बाग्लुङ अर्की एक महिला पनि पुगेकी थिइन् । ६५ वर्षीया ती महिला भने अहिले पनि स्वस्थ छिन् । उनमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । काठमाडौं झरेपछि युवतीसँगै ट्याक्सीमा आन्तरिक विमानस्थल गई जहाजमा पोखरा र त्यहाँबाट बागलुङसम्मै अर्का एक युवा पनि सँगै आएका थिए । उनमा पनि कुनै समस्या छैन ।
सकुशल घर आइपुगेकोमा घरका सबै खुशी थियौं । घरमा बुवा आमा र म थियौं । भेट्न भान्जाभान्जी पनि आएका थिए ।
घरमा आउँदा छोरीमा कुनै शारीरिक समस्या देखिएको थिएन । एक दिन बेलुकीपख सामान्य ज्वारो आयो । सिटामोल खान दिएपछि अर्को दिन निको भयो ।
तर १० चैतमा एउटा सनसनीपूर्ण खबर आयो कि फ्रान्सबाट कतार हुँदै आएकी एक जना युवतीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । त्यतिबेलासम्म कोरोनाबारे हामीमा कुनै शंका लागेको थिएन । त्यसपछि मनमा शंका लाग्यो, छोरी पनि कतारलाई नै ट्रन्जिट बनाएर आएकी थिइन् । कतै संक्रमित चढेको विमानमै त थिइनन् छोरी !
अर्को दिन धौलागिरि अस्पताल, बागलुङबाट फोन आयो । मेरी छोरी र कोरोना संक्रमित चढेको विमान एउटै परेछ–कतार एयरको क्यूआर ७५२ । त्यसपछि अस्पतालबाट स्वास्थ्यकर्मीको टिम आएर थ्रोट स्वाब लिएर जानुभयो ।
त्यसपछि हामीले छोरीलाई छुट्टै कोठामा राख्न थाल्यौं । डाक्टरको सल्लाहअनुसार दूरी मेन्टेन गर्यौं । उनलाई टाढैबाट खाना राखिदिन्थ्यौं । उनले खाना खाएको जुठो भाँडा पनि ढेढ घण्टापछि माझ्थ्यौँ । भाँडा माझेपछि साबुनपानीले हात धुन्थ्यौं । छोरीलाई नियमित तातोपानी र कागती पानी दिइराखेका थियौं । स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । कहिलेकाहीँ खोक्थिन्, तर त्यसरी त हामी पनि खोकिराख्छौं ।
तर, आज छोरीको पनि कोरोनाको रिपोर्ट पोजटिभ आएछ । छोरीलाई कसरी क कोरोना संक्रमण भयो ? म अत्तालिएँ । छोरीले पनि समाचारहरुबाटै आफूलाई कोरोना संक्रमण भएको थाहा पाइन् । त्यो खवर सुनेर निकैबेर रोइन् । मैले ‘नेपालमा कोरोना लागेको विरामी निको भएर डिस्चार्ज भएका छन् । आत्तिनु पर्दैन । सबै कुरा ठिक हुन्छ’ भनेर हौसला दिने प्रयास गरेँ । तर पनि उनी निकै चिन्तित देखिन्छिन् । अहिलेसम्म मसँग केही बोलेकी छैनिन् । अरुसँग पनि बोलेकी छैनन् ।
अहिले घरमा छोरीसहित हामी आठ जना छौँ । भान्जाभान्जी पनि हामीसँगै छन् । हामीले सतर्कता अपनाएका छौं । मेयर, डाक्टर सा’बहरुले फोन गर्नुभएको छ । उहाँहरुले ‘नआत्तिनुस् । केही जटिल लक्षण देखियो भने तुरुन्त सम्पर्क गर्नुहोला । हामी आइहाल्छौँ’ भन्नुभएको छ । आफन्तहरु पनि फोन गरेर हौसला दिइरहनुभएको छ ।
युवती स्थानीय कुडुले माविमा कक्षा ११ की विद्यार्थी हुन् ।
अनलाइनखबर डटकमबाट साभार गरिएको