
सिएनएन | इटालीकी १०२ वर्षीया एक वृद्ध महिलाले कोरोना भाइरस (कोभिड-१९)माथि विजय प्राप्त गरेकी छन्। कोरोनाले वृद्धवृद्धालाई छिटो असर गर्छ र मृत्युको मुखसम्म पुर्याउँछ भन्ने पछिल्ला तर्कहरुलाई उनले काटिदिएकी छन्। र, उनले यो पनि पुष्टि गरिदिइन् कि-प्रतिरोधात्मक क्षमता बलियो भए र मनोबल उच्च राखे कोरोना भाइरससँग लड्न उमेर छेक्दैन। उनी हुन्- इटालीका ग्रोनडोना। उत्तर इटालीको सहर जिनेआमा बसोबास गर्ने एक १०२ वर्षकी ग्रोनडोना तीन साता अघि कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना भएकी थिइन्।
२० दिन अस्पतालमा बसेर उपचार गरेपछि उनलाई अहिले निको भएको छ र अस्पतालले उनलाई घर पठाएको छ। ‘हामीले उनलाई ‘हाइल्याण्डर’ उपनाम दिएका थियौं। यसको अर्थ हो ‘अमर’,’ ती महिलाको उपचारमा संलग्न सान मार्टिनो अस्पतालका चिकित्सक डा. भेरा सिबाल्डीले भने, ‘यो महामारीसँग जुधिरहेका सबै वृद्धाहरुको लागि उनी आशा बनेकी छन्।’ इटालीमा कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेमा औसतमा ७८ वर्षका उमेरका वृद्धवृद्धा बढिरहेका छन्। इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरसबाट ७० वर्ष उमेरभन्दा माथिका मानीसहरु बढी खतरा रहेको बताएको थियो।
तर ती १०२ वर्षकी ती महिलाले यी तथ्यहरुलाई काटिदिएकी छन्। ग्रोनडोना मार्चको पहिलो साता अस्पतालमा भर्ना भएकी थिइन्। सामान्य मुटुमा समस्या आएपछि उनी अस्पताल पुगेकी थिइन्। परीक्षण गर्दा उनमा कोरोना भाइरस देखिएको थियो, जसले गर्दा उनलाई स्वास फेर्न अफ्ठेरो बनाएको थियो। ‘सुरुमा उनलाई सामान्य कोरोना भाइरसको संक्रमण भएको थियो। तर, उनी निको हुनुमा हामीले थोरै मात्र गर्यौं, धेरै प्रयास उनैले गरेकी हुन्,’ डा. सिबाल्डीले भने। ग्रोनाडोनाको घटनाले कोरोना भाइरसका विषयमा धेरे अध्ययन अनुसन्धान गर्नुपर्ने देखाएको छ।
उनी सन् १९१७ मा जन्मेकी थिइन्। उनले यसअघिका सबैभन्दा ठूलो महामारी ‘स्पेनीस फ्लु’ को पनि सामाना गरेकी थिइन्। सन् १९१८-१९१९ मा आएको स्पेनिस फ्लुका कारण विश्वमा ५ करोडभन्दा बढी मानिसका मृत्यु भएको थियो। ग्रोनडोना मार्च २६ दिन अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। उनको एकमात्र छोराको केही वर्षअघि अमेरिकामा मृत्यु भएको थियो। ‘उहाँ जीवनलाई माया गर्नुहुन्छ। उहाँ नृत्य र सङ्गीत असाध्यै रुचाउनुहुन्छ,’ ग्रोनडोनाका भतिज भिल्ला ग्रोनडोनाले भने।