जनकपुरमा रूघाखोकीको बिरामी हेर्नेबित्तिकै चिकित्सकहरू उपचार गर्न डराउन थालेका छन् । अस्पतालमा भर्नासम्म गरिएको छैन ।
यही डरका कारण धनुषाधामको मुलाबारीकी ४५ वर्षीया मरनीदेवी सदालाई प्रादेशिक अस्पतालसम्मले भर्ना गरेनन् । सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन् । पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर श्वास फेर्ने गाह्रो भयो ।
बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित गोदावरी मोडर्न अस्पतालमा भर्ना गराए । तर, त्यहाँ चिकित्सकहरूले मरनीलाई डाइग्नोसिस गर्दा कोरोना भाइरस कोभिड १९ भनेर लेखिदिए । यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पुर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुरधाम लैजान सुझाए । यसपछि त कुनै अस्पतालले भर्ना गर्नै मानेनन् ।
बिहान १० बजे कारी जेनतेन आमालाई अटोमा राखेर प्रादेशिक अस्पताल जनकपुरधाममा आईसीयूमा भर्ना गराउन ल्याए । तर, चिकित्सहरूले प्राइभेट अस्पतालको पुर्जा हेरेपछि बिरामी मरनीलाई आईसीयूको ढोकामा समेत छिर्न दिएनन् ।
आमाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखेपछि छोरा कारी भक्कानिँदैं चिकित्सकहरूलाई गुहारे । तर, कसैले छुनसमेत मानेनन् । उनले आमालाई अस्पतालको परिसरमा सुताए र सहायता खोज्न चारैतिर दौडे । सोही बेला प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव आइपुगे ।
आमाको अवस्था देखाउँदै कारीले मेसु यादवलाई आईसीयूमा भर्ना लिइदिन अनुरोध गरे । तर मेसु यादवले पनि उनलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्दै अस्पतालबाट १२ किलोमिटर टाढा नगराइन– ५, गंगुलीमा हाल निर्माणाधीन क्षेत्रीय क्वारेन्टाइनमा लैजान सुझाव दिए ।
क्वारेन्टाइनसम्म लैजान एम्बुलेन्स चाहियो भन्दै कारी अस्पतालअगाडि उभिएका एम्बुलेन्स चालकहरूसमक्ष पुगे । तर, कसैले पनि उनकी आमालाई एम्बुलेन्समा बोक्न मानेनन् । चारैतिरबाट हतास भएर कारी बिरामी छट्पटाउँदै गरेको आमानजिकै गएर असमर्थ भई रूँदै घण्टौं बसे ।
ती महिलालाई मोटरसाइकलमा बाहिर लगिएको अस्पतालका कर्मचारीहरूले बताए । तर, कहाँ लगियो भन्नेबारेमा धनुषाकै प्रशासनिक निकायहरूले समेत अनभिज्ञता प्रकट गरेका छन् ।
एकातर्फ कोरोनाको कुनै पनि लक्षण देखिए अस्पताल जानुस् भन्दै सरकारले आह्वान गरिरहँदा अर्कोतर्फ जनकपुरस्थित प्रादेशिक अस्पतालले रूघाखोकीका बिरामी देख्दा एम्बुलेन्सबाट ओर्लिनसमेत दिएको छैन । ‘सेफ्टी इक्विपमेन्ट नै छैन् चिकित्सकका लागि,’ मेसु यादव भन्छन्, ‘रूघाखोकी र ज्वरोका बिरामी आएपछि उनीहरूको ट्राभल हिस्ट्री हेरेर भर्ना गर्ने वा नगर्ने निर्णय चिकित्सकहरूले लिइरहेका छन ।’
‘कोही यदि भारत वा अन्य देशबाट आएका छन् र कोरोनाको लक्षण देखिएको छ भने त्यस्ता बिरामीलाई सोझै क्वारेन्टाइनमा लैजान सल्लाह दिन्छौँ ।’