
स्याङ्जा, १४ चैत । कोराना भाइरस संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनमा खटिरहेका एक प्रहरीको गोली लागेकार ज्यान गएको छ ।
लकडाउनका बेला नागरिकलाई कोरोना भाइरस संक्रमणले पार्ने जोखिमबारे जानकारी गराउँदै खटिरहेका स्याङ्जा हरिनास गाँउपालिकास्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षीय रविन्द्र पौडेल हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाइते भएका थिए ।
पोखरास्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिएका छन् । शुक्रवार दिउँसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर उनलाई लागेको प्रहरीले जनाएको छ ।
उनको दाहिने कोखाबाट लागेको गोली देब्रे कोखाबाट निस्केको मृतकका काका ऋषिकान्त पौडेलले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कर्णेलको टोली घट्नास्थलतर्फ गएको जनाइएको छ ।
पोखरा महानगरपालिका २८ मा बस्दै आएका पौडेल चैत्र ७ गते नेपाल प्रहरीबाट अवकास हुँदै थिए । कोरोना भाइरसको लकडाउनका कारण उनी रिटायर्स हुन पाएका थिएनन् । उनका दुई छोरी र श्रीमति रहेको मृतकका काका ऋषिकान्तले जानकारी गराएका छन् ।